काठमाडौं, बैशाख ५ ।
वागमती सफाई अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान पनि सुरु गरिएको छ । वागमती सफाई महाअभियान सुरु भएको २०५ औँ हप्तामा बसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु गरिएको हो ।
शनिबार गरिएको चक्रपथ सफाई अभियानबाट १० मेट्रिक टन फोहोर सङ्कलन तथा व्यवस्थापन गरिएको थियो । वागमती सफाई अभियानका संयोजक तथा पूर्व सचिव किशोर थापाले वागती सफाईको सफलताबाट उत्साहित भएर चक्रपथ सफाइ अभियानको थालनी गरिएको बताएका छन् ।
वागमती सफाई महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारद्वारा जारी दश बुँदे सफाई घोषणापत्रको कार्यान्वयनस्वरूप चक्रपथ सफाई अभियान सुरु गरिएको उनले बताए ।
पूरा चक्रपथ नै सफाई गरिने अभियान दीर्घकालीन लक्ष्य रहेको नौ किलोमिटर चक्रपथ खण्ड विस्तार कार्य सम्पन्नपछि सफाई गरिने जनाएको छ । सडकका फोहोरमैला नदीनालामा नै विसर्जन हुने भएकाले सडक सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने बताउँदै संयोजक थापाले सडक सफाईसँगै उपत्यकाका नदीनालासमेत सफा हुने विश्वास व्यक्त गरेका छन् ।
चक्रपथ सफाईको क्रममा १० मेट्रिक टन फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको थियो । चक्रपथ सफाई अभियानका क्रममा करिब चार सय जनाको सहभागिता रहेको थियो । शहरी विकासमन्त्री अर्जुननरसिंह केसीद्वारा अभियानको शुभारम्भ गरिएको थियो । घरटोल र हाम्रा सडक किनारा सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने भएकाले चक्रपथ सफाई अभियान सुरु गरिएको बताए । उनले चक्रपथ सफाई अभियानले उपत्यकाका नदीनाला सफाईमा मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।