काठमाडौं, बैशाख ४ ।
नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज कमाण्ड तथा स्टाफ तालिमको बलाध्यक्ष पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच तालिमको शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा बलाध्यक्ष थापाले स्टाफ कलेज तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूलाई तालिमको सफलताको कामना गर्दै तालिमले जटिल तथा चुनौतीपूर्ण सुरक्षा अवस्थाहरूको मूल्याङ्कन गर्न, योजना बनाउन र कार्यान्वयन गर्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी श्री देवेन्द्र बहादुर मेधाशीले स्वागत मन्तव्य राखेका थिए ।
उक्त तालिममा नेपाली सेनाका तर्फबाट ४४ जना सेनानीहरू, नेपाल प्रहरीबाट १ जना प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी बलबाट २ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ जना अनुसन्धान अधिकृतलगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, मलेशिया, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका १/१ जना र मित्रराष्ट्र चीनका २ जना गरी जम्मा ५८ जना शिक्षार्थीहरूको उपस्थिति रहेका थिए ।
साथै तालिममा सहभागी विदेशी शिक्षार्थी अधिकृतहरूमा मित्रराष्ट्र दक्षिण कोरिया र माल्दिभ्सबाट पहिलो पटक सहभागीता जनाएका थिए । सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो ।
कार्यक्रममा नेपाल सिभिल स्टाफ कलेजका कार्यकारी अधिकृत पुण्य प्रसाद न्यौपाने, त्रि.वि.मानविकी संकायका डिन प्रो.डा.शिवलाल भूषाल, नेपाली सेनाका रथीवृन्द, पूर्व शिक्षाधिकृतहरू, सैनिक सहचारीहरू तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेका थिए ।