काठमाडौ ४ वैशाख ।
आसन्न स्थानीय तह निर्वाचनका लागि चीन सरकारले आज सहयोग निर्वाचन सामाग्री हस्तान्तरण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत महिना गरेको भ्रमणका क्रममा चीनले ८ करोड भन्दा बढीको निर्वाचन सामाग्री उपलब्ध गराउने जनाएको थियो ।
नेपालका लागि चिनियाँ राजदुत यी होङ सहितको टोलीले निर्वाचन आयोगलाई निर्वाचन सामाग्री हस्तान्तरण गरेको आयोगका सुचना अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।
यसैबीच स्थानीय तह निर्वाचनको लागी निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले गत फागुन ९ गतेसम्म १८ बर्ष उमेर पुगेका मतदातालाई समावेश गर्दै नयाँ मतदाता सुची सार्बजनिक गरेको हो ।
फोटो सहितको मतदाता परिचय पत्र छपाईको जिम्मा पाएको ओमनी ग्रुपले ५० जिल्लाको परिचय पत्र छपाईको काम सकेको जनाएको छ । बाँकी २५ जिल्ला र थप मतदाताको परिचय पत्र छपाईको काम केहि दिनभित्रै सक्ने गरी काम भईरहेको जनाएको छ ।
१ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता र थप भएका मतदाताको परिचय पत्र यसै साता सक्ने गरी काम अघि बढेको सो कम्पनीले जनाएको छ ।