काठमाडौंँ, वैशाख ३ ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच आजदेखि संयुक्त सैन्य तालिम हुँदै छ ।नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो ।
नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ । ‘सगरमाथा फ्रेन्डसिप २०१७’ नाम दिएको संयुक्त सैन्य तालिम वैशाख १२ सम्म हुनेछ । यसअघि २८ माघका लागि तालिम तय भएको थियो । नेपालको तयारी नपुगेकाले तालिम सरेको हो ।
नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा तालिम आयोजना भएको नेपाली सेनाले जनाएको छ ।
चीनले आफ्नो वार कलेजमा नेपाली सेनालाई बर्से्नि चार सिट छुट्याएको छ । नेपाली सेनालाई भारतले एक, अमेरिकाले दुई, बंगलादेश, मलेसिया, क्यानडा र पाकिस्तानले एक–एक सिट दिँदै आएका छन् ।
विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम गर्न लागिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अरू बलियो बनाउन सहयोग पुग्ने विश्वास लिईएको जनाईएको छ ।
चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो ।