काठमाडौ २ वैशाख ।
आगामी वैशाख ३१ का लागि तय स्थानीय तह निर्वाचनमा दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति लगायतका दलले आजदेखि रिले अनसन सुरु गरेका छन् ।
राजधानीको शान्तिवाटिकामा विरोध सभासहित रिले अनशन सुरु गरिएको नयाँ शक्ति नेपालका नेता परशुराम तामाङले जानकारी दिनुभयो । अनशन आगमी वैशाख ८ गतेसम्म सन्चालन हुने जनाइएको छ ।
सो अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुलाई दलीय चुनाव चिह्न नदिएर निर्वाचन आयोगले अन्याय गरेको बताउनु भयो ।
भट्टाराईले संविधानले तोकेको समयसीमामा तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा आफूहरु रहे पनि सरकारको दबाबमा आयोगले गरेको व्यवस्था विभेदयुक्त रहेको धारणा राख्नुभयो ।
पहिलो दिन आज पूर्वप्रधानमन्त्री समेत रहनु भएका नयाँ शक्ति नेपाल संयोजक डा. बाबुराम भट्टराई सहितका विभिन्न ६८ दलका मुख्य नेता अनशनमा बस्ने जनाइएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र चुनावमा दलीय चिन्ह पाउने गरि निर्वाचन ऐन बनेपछि अन्यायमा परेको भन्दै ६८ दलले विरोध गरिरहेका छन् ।