काठमाडौं, चैत्र ३१ ।
नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा छिमेकी राष्ट्रहरू लगायत अन्य मित्रराष्ट्रहरूसँग द्धिपक्षीय तथा बहुपक्षीय रूपमा तालिम, सेमिनार तथा अभ्यासहरू मार्फत आफ्नो ज्ञान, सीप तथा अनुभवहरू आदान–प्रदान गरी पेशागत क्षमता अभिबृद्धि गर्दै आएको छ । त्यस सन्दर्भमा विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकारका विषयवस्तुहरूमा केन्द्रित रही दौत्य सम्बन्ध रहेका विभिन्न देशका सैनिकहरूसँग समय–समयमा संयुक्त तालिम, सेमिनार तथा अभ्यासहरू सञ्चालन गर्दै आएको छ ।
छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा विश्वको गम्भिर सुरक्षा चुनौतीको रूपमा देखा पर्दै गईरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने संभावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग २०७४ बैशाख ३ गतेदेखि ऐ. १२ गतेसम्म नेपाल–चीन विशेष फौज संयुक्त सैन्य तालिम ‘Sagarmatha Friendship-2017’ नेपालमा सञ्चालन हुने छ ।
दुबै देशका सेनाहरूबीच आ–आफ्नो अनुभव आदान–प्रदान गर्दै पेशागत क्षमता अभिबृद्धिका लागि नियमित रूपमा सञ्चालन हुने यस प्रकारको द्धिपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कुटनीतिक सम्बन्ध बलियो बनाउन कुरामा विश्वास लिइएको छ ।