काठमाण्डौ,३१ चैत ।
२०७३ सालमा आर्थिक क्षेत्रमा भएका केहि उपलब्धिहरुले यो बर्ष आशा जनाउने काग गरेको छ भने आगामि बर्ष २०७४ साललाई थुप्रै चुनौति सुम्पीएर जादैछ ।
लोडसेडिङको अन्त्य र बन्द हडताल कम भएकाले यसवर्ष उत्पादनसँगै सर्वसाधारणको आत्मविश्वास पनि बढेको छ
विनासकारी भूकम्प र नाकाबन्दीले प्रभावित बनेको पर्यटन क्षेत्रमा पनि यो वर्ष धेरै सुधार आएको छ । आगामी सेप्टेम्बरदेखि सुरु हुने अर्को पर्यटन सिजनका लागि ८० प्रतिशतमाथि होटल बुक भएका छन् । सन २०१६ भरि नै औसतमा ६० प्रतिशत कोठाहरू भरिएको पर्यटन ब्यावसायी बताउछन् ।
यस्तै धानको उत्पादन यस वर्ष हालसम्मकै उच्च ५२ लाख टन भयो । गहुँ सप्रिएको छ । चैतमा पनि पानी परेकाले अन्य बालीको पनि उत्पादन बढ्ने नै देखिन्छ ।
आधा क्षमतामा पनि नचल्ने उद्योगहरूको ६५ प्रतिशत क्षमतामा चल्न थालेका छन् । जसले चालु आर्थिक वर्षलाई हालसम्मकै दोस्रो धेरै आर्थिक वृद्धि भएको वर्ष बनाउने सम्भावना देखाएका छन् । सरकारी लक्ष्यअनुसार नै ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल भए यो ०५० र ५१ यताकै उच्च हुनेछ ।
गत वर्ष ० दशमलव ८ प्रतिशतले मात्रै अर्थतन्त्रको विस्तार भएको थियो ।
पर्यटन क्षेत्रमा करिब २८ वटा ३ तारेभन्दा माथिका होटल निर्माणाधीन छन् । यसमा एक खर्बभन्दा बढी लगानी भएको होटल संघका महासचिव विनायक शाहको अनुमान छ ।
सन २०१७ मा १० लाख पाहुनालाई स्वागत गर्ने सम्भावना छ । नेपाल वायुसेवा निगमले २०७५ लाई स्वागत गर्दा नयाँ वाइडबडी (ठूलो) जहाज भित्र्याइसक्ने वाचा गरेको छ ।
दशकभित्र पनि दर्जन नयाँजहाज अन्य कम्पनीले थप्ने चाँजोपाँजो मिलाइरहेका छन् ।
चालु आर्थिक वर्षको ८ महिनामा ८ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । गत वर्ष यतिखेर २ अर्ब ३३ करोड मात्रै आएको थियो ।
राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाका अनुसार आगामी दिनमा अर्थतन्त्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले मुख्य भूमिका खेल्ने संकेत देखिन्छ ।
गत महिनाको लगानी सम्मेलनमा प्रतिबद्धता जनाइएको १४ खर्ब लगानी ल्याउन सक्नु भने चुनौति नै हो ।
यस्तै उपत्यकाबासीको बर्षौदेखिको सपना २०७४ सालमा नै पुरा गर्नुपर्ने छ । मेलम्चीको पानी पनि आगामी वर्ष राजधानी भित्रनेछ ।
आफैंले ट्रयाक खोलेको द्रुतमार्ग पूरै बनाउने जिम्मा पाएपछि सेनाले पनि काम थाल्नेछ । बूढी गण्डकी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको बूढी गण्डकीको मुआब्जा वितरण अन्तिम चरणमा पुगेकाले यसमा पनि काम सुरु हुनेछ ।
पञ्चेश्वर बहुउद्देशीय आयोजनाको डीपीआरमा अध्ययन भइरहेको छ भने र पश्चिम सेती अब लगानीकर्ता कम्पनी ३ गर्जेजसँग एक चरणको सहमति भइसकेको छ ।
बन्द हडतालमा कमी भएकाले विद्यालयहरू निर्बाध चल्ने अवस्था बन्दै छ । स्वास्थ्य क्षेत्रमा मन्त्री गगन थापाले केही दूरगामी असर पर्ने खालका निर्णय गरेका छन् । जसले सामाजिक न्याय क्षेत्रमा राज्यको उपस्थिति बलियो बनाउने आधार तयार गर्नेछ ।
कृषि अनुदान लिन कर्मचारीलाई २५ प्रतिशतसम्म कमिसन दिनैपर्ने बाध्यता सिर्जना भएको योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा बताउनु हुन्छ । बिमा सुविधा लिन पनि साधारण किसानलाई समस्या छ । ६० प्रतिशत सिँचाइ आयोजना बर्खामा मात्रै काम लाग्नेछन् ।
कृषि क्षेत्रमा पनि चुनौति छ । यस बर्ष मौसमले साथ दिएपनि आगामि बर्ष त्यस्तै होला र उत्पादन बढ्ला भन्ने यकिन गर्न सकिदैन । यस वर्षको ८ महिनामै करिब १६ अर्बको चामल आयात भएको छ । गत वर्ष एक खर्बभन्दा बढीको कृषिजन्य उत्पादन आयात भयो । त्यसैले कृषिमा बढ्दै गएको भ्रष्टाचार कम गरिने संयन्त्र बन्नुपर्छ ।
आधुनिकीकरणका लागि दिइएको सहुलियत दुरुपयोग भए नभएको अनुगमन र प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत बढ्ने भ्रष्टाचार अर्को चुनौती हुनेछ । बजारको सुनिश्चितता र किसान एवं उपभोक्ताबीचको खाडल कम गर्न कस्तो वजेट आउछ भन्ने पनि चुनौति ७४ साललाई थपिएको छ ।
राजनितिक बिबादकै कारण राष्टिय पुननिर्माण प्राधिकरणको काम प्रभावकारी बन्न सकेन । प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाएर सरकारले नयाँ सिईओमा डा गा गोविन्द पोख्रेललाई नियुक्त समेत गरेको छ ।
भूकम्प गएको दुई वर्षसम्म जम्मा ३ हजार ७ सयले मात्रै घर निर्माणका लागि दोस्रो किस्ता रकम पाएका छन् । पहिलो किस्ता रकम नै नपाएका भुकम्पपिडितको वास अझै त्रिपालमुनि नै छ । ७३ सालको अन्त्य तिर प्राधिकरणले केहि तदारुकता देखाएर काम अघि बढाईरहेको छ । आगामि बर्षमा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतसँग कार्य सम्पादन सम्झौता गरेर कामको समयसीमा तोकिएमा अझै प्रभावकारी हुने देखिन्छ ।
अर्को चुनौती घट्दै गएको रेमिट्यान्सको वृद्धिदर र कहालीलाग्दो व्यापार घाटाबाट रहेको छ । त्यसले भुक्तानी सन्तुलनमा असर गरेर विदेशी विनिमय सञ्चितिमा असर पर्ने जोखिम छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका कार्यक्रम बजेटमा समावेश गराउनुपर्ने चुनौति छ । त्यस्तै निजी क्षेत्रबाट भइरहेको गैरजिम्मवारीलाई पनि हटाउनु ७४ सालका लागी अति आवश्यक छ । उता निजी क्षेत्रले आफ्र्नो दशक लामो ईतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । यसै बर्षको अन्त्य भएको नेपाल अद्योग वाणिज्य महासँघको अध्यक्षमा भवानी राणा निर्वाचीत हुनुभएको छ ।