ललितपुर, चैत्र ३० ।
वर्षा, सहकाल र अन्नको देवताको रूपमा लिइने रातो मच्छिन्द्रनाथ (बुङ्गद्यः)को आज शुभ साईतमा लगनखेलस्थित डबलीमा स्नान गरिएको छ ।
रातो मच्छिन्द्रनाथको स्नान गर्दा चाँदीको गाग्रीमा दूधले स्नान गर्ने परम्परा रहिआएको छ । आज साँझ ६ बजेर ४ मिनेट जाँदा चार जना पानेजु (पाञ्जु)ले पूर्व, पश्चिम, उत्तर र दक्षिण चारतिरबाट रातो मच्छिन्द्रनाथलाई गाग्रीले स्नान गरिएको हो । नेपालभाषामा स्नानलाई न्हवं भन्ने गरिन्छ । योसँग रातो मच्छिन्द्रनाथको जात्रा प्रारम्भ भएको मानिन्छ ।
स्थानका लागि ललितपुरको तःबहालस्थित रातो मच्छिन्द्रनाको मन्दिरमा विशेष पूजाआजा गरी मच्छिन्द्रनाथको मूर्तिको स्थानमा चाँदीको ठूलो घडा राखिन्छ । उक्त घडालाई देवताको ठाउँमा प्रतिस्थापन गरी मच्छिन्द्रनाथको मूर्तिलाई खतमा राखेर लगनखेलमा स्नान गर्न लगिने परम्परा रहेको छ ।
रातो मच्छिन्द्रनाथको स्नान गर्दा जीवित देवी कुमारीको पनि उपस्थिति अनिवार्य रहेको हुन्छ ।
