ललितपुर, ३० चैत ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका बिषयमा छलफल गर्न हिन्दूकुश क्षेत्रमा पर्ने १५ मुलुकका विज्ञहरुबीच राजधानीमा छलफल भईरहेको छ ।
मंगलवारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी वातावरणविद्हरुले जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, नीतिनिर्माता र विज्ञहरुबीच ज्ञान, अनुभव आदानप्रदान तथा जलवायु परिवर्तनसम्बन्धी अध्ययनका निष्कर्षबारे छलफल गरिरहेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहको सहकार्यमा भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा हिन्दूकुश क्षेत्रमा रहेका नेपाल, अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार र पाकिस्तानसहित १५ देशका नीतिनिर्माता, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी र युवा गरी करिब दुई सय जनाको सहभागिता रहेको छ ।
सो सम्मेलनमा बोल्दै जनसङ्ख्या तथा वातावरण मन्त्रालयसम्म सचिव डा विश्वनाथ ओलीले जलवायु परिवर्तनबाट जनजीविका, गरिबीमा मात्र नभई भौतिक पूर्वाधारमा पनि असर गरेको उल्लेख गर्नुभयो ।
यहाँले यस असरबाट बच्न सरकारले विभिन्न नीति, संस्थागत संरचना र सम्बन्धित सरोकारवालासँग समन्वय गरी लापा, नापालगायत विभिन्न कार्यक्रम कार्यान्वयन गरिरिहेको जानकारी दिनुभयो ।
इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले जलवायु परिवर्तनबाट खासगरी पर्वतीय मुलुकका बासिन्दा बढी प्रभावित भएकाले उनीहरुको पानी, ऊर्जाजस्ता आधारभूत सेवाका लागि हिन्दुकुश क्षेत्रमा राष्ट्रबीच सहयोग एवम् समन्वय अभिवृद्धिमा जोड दिइएको उल्लेख गर्नुभयो ।