पोखरा, चैत्र ३० ।
पोखरा लेखनाथ महानगरपालिकाका नौ वटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नयाँ वर्ष महोत्सव सुरु भएको छ ।
प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका १४ औँ पटक महोत्सव आयोजना गरिएको हो ।
‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण उत्पादन, होमस्टेलगायत ६० वटा कक्ष रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिएका छन् ।
नयाँ वर्ष मनाउन स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरा आउने वातावरण महोत्सवले सिर्जना गरेको बताउँदै उनले भने ‘मुलुकको विषम परिस्थतिमा पनि महोत्सवले निरन्तरता पाउँदै आएको छ ।’
महोत्सवका अवसरमा फेवातालमा डुङ्गा दौड, पर्यटक दौड, एकल नृत्य, बाल उद्यान एवं राष्ट्रिय कलाकारहरूको दोहोरी गीतको प्रस्तुतिसहित विभिन्न मनोरञ्जनका कार्यक्रमको आयोजना गरिने सङ्घका महासचिव तथा प्रचारप्रसार समितिका संयोजक गणेश पहारी बताए ।
महोत्सवका अवसरमा आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर सङ्घ प्रथम, नेवाः कचाः खलः बैदा द्वितीय र किरात सेवा समाज तृतीय भई क्रमशः १० हजार सात हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए । झाँकी प्रतियोगितामा २६ विभिन्न समूहको सहभागिता रहेको थियो ।
पोखराको महत्वपूर्ण पर्यटकीयस्थल हल्लनचोकबाट सुरु भएको आमा समूहको प्रतियोगितामा ‘बङ्गलादी आमा समूह’ प्रथम, ‘खहरे आमा समूह’ द्वितीय र ‘क्षेत्री महिला समूह’ तृतीय भई रु सात हजार, रु पाँच हजार र रु तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
एक लाखभन्दा बढी स्थानीयवासी र बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षासहित मङ्गलबारदेखि सुरु भएको पाँचदिने सो महोत्सवको होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सिर्जना राणाले उद्घाटन गरेका थिए । नेपालका होटलको अकुपेन्सी दर ६० प्रतिशतको हाराहारीमा रहेको जानकारी गराउँदै उनले छिमेकी देश भारत र चीनका पर्यटक भित्र्याउने खालका कार्यक्रम सञ्चालन गर्न व्यवसायी सङ्गठित भएर लाग्नुपर्ने विचार व्यक्त गरेका थिए ।