काठमाडौं,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थापछि राणा अध्यक्ष हुनुभएको हो भने निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोल्छाले जित हासिल गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी मंगलबार महासंघको निर्वाचन भएको थियो । नयाँ व्यवस्थाअनुसार राणा र गोल्छा नेतृत्वको कार्यसमितिले बुधबारबाट जिम्मेवारी सम्हाल्दै छ ।
महासंघमा राणा पहिलो महिला अध्यक्ष हुन् । ‘अब चुनाव सकियो । निजी क्षेत्रको विकासका लागि एकढिक्का भएर अगाडि बढ्नुपर्छ,’ राणाले भनिन्, ‘सबैलाई मिलाएर अघि बढ्छु ।’ निर्वाचन गर्न गठित समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गोल्छाले जिल्ला/नगरतर्फबाट ६१, वस्तुगतबाट ४७ र एसोसिएटबाट ५ सय ४ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानले भने वस्तुगतबाट ५१, जिल्ला नगरतर्फबाट ४२ र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन् ।