काठमाण्डौ ,३० चैत ।
आगामि वैशाख ३१ गते हुन लागेको स्थानिय तह निर्वाचनका लागी सहयोगस्वरुप चीन सरकारले दिन लागेका सामग्री आज काठमाण्डौ आउँदै छन् ।
पहिलो चरणमा आज र भोली दोस्रो लटका निर्वाचन सामग्री आउन लागेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनु भयो ।
चीनबाट जेलपेन, स्केल, सिजर, क्यालकुटेलरलगायत ११ प्रकारका निर्वाचन सामग्री आउन लागेको उहाँले बताउनु भयो ।
‘चीनबाट ३० चैतमा पहिलो लट र ३१ चैतमा दोस्रो लटमा आउने जानकारी आएको शर्माको भनाई छ ।
उता , अर्को छिमेकी मुलुक भारतसँग मागिएका सामग्रीहरु भने उपलब्ध हुने या नहुने अन्योल नै रहेको छ ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनको प्रयोजनार्थ केही सवारीसाधनसहित सामग्री उपलब्ध गराउन भारतलाई आग्रह गरेको थियो ।

चीनले चैत मसान्तसम्म माग भएका सामग्री उपलब्ध गराउने जानकारी गराइसके पनि भारतले भने दिने वा नदिने केही जानकारी दिएको छैन ।
भारतसँग आयोगले डबल क्याब पिकअप गाडी ४५ वटा, स्कार्पियो सात, सेडन कार चार, मोटरसाइकल ३०, स्कुटर सात र मिनीबस एउटा उपलब्ध गराइदिन भनेको थियो ।
साथै, निर्वाचनका लागि नङमा लगाउने नसुक्ने मसी, मतदान केन्द्रमा प्रयोग गरिने छेकबार पनि उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
दुवै देशले निर्वाचन सामग्री निःशुल्क नभएर नेपाललाई सम्बन्धित देशको सरकारले गर्ने सहयोग रकमबाटै कटौती हुनेगरी सामग्री पठाईने बताइएको छ ।