सुखीभई बाँच्ने मनोवैज्ञानिक उपाय

सुखीभई बाँच्ने मनोवैज्ञानिक उपाय

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

–गोपाल ढकाल, मनोविद्
मानिस सबैभन्दा असन्तुष्ट प्राणी हो । यही असन्तुष्टिले मानिसलाई विकसित बनाएको छ र यही असन्तुष्टिले मानिसलाई दुःखी पनि बनाउने गर्छ । सबै मानिसको एउटै लक्ष्य हुन्छ, सुख । तर सबै मानिसले सुख पाइरहेका हुँदैनन् । प्रशस्त धन सम्पत्ति, शिक्षा, सत्ता, मानप्रतिष्ठा भए पनि मानिस सुखी भएको पाइँदैन । एउटा सम्पन्न परिवारको छोरालाई, बाबुले नयाँ कार किनिदिँदा ऊ जति खुशी हुन्छ त्यो भन्दा बढी खुशी एउटा गरिब बाबुको छोरा हुन्छ जसलाई उसका बाबुले पुरानो साइकल किनिदिन्छन् । सुख, हाँसो, खुशी भनेको भौतिक वस्तु होइन । त्यसैले धन, सम्पत्ति आदिले यी कुराहरु प्राप्त गर्न सकिँदैन । सधैँ सुखी भएर बाँच्नु पनि एउटा कला हो । त्यो व्यक्तिमात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने कला हुन्छ ।
मनोविज्ञानको भाषामाभन्दा सुख, दुःख, हाँसो, रोदन आदि संवेग हुन् । यी कुरालाई मानिसले अनुभूति गर्नमात्र सक्छ । सुखको पनि अनुभूति मात्र गर्न सकिन्छ । सुखको अनुभूतिगर्न सक्ने मान्छे मात्र जीवनमा सुखी हुन्छन् । वातावरणका कुराले उत्तेजित गरेपछि मानिसमा यस्ता संवेगहरु आउँछन् । संवेगहरुलाई नियन्त्रणमा राख्न सकेमा मात्र मानिस सुखी हुन्छ । भगवान् गौतम बुद्धलाई समेत एक पटक यस्ता संवेगहरुले व्याकुल बनायो । बृद्ध–बृद्धा, रोगी, मरेका मान्छेहरु देखेर उनी दुःखी भए । मानिस कसरी सुखी हुनसक्छ भन्ने कुराको खोजी गर्न एक दिन उनी घर छाडेर जंगल पसे ।
उनी एकान्तमा बसेर तपस्या गर्न थाले । उनी भोकभोकै तपस्या गर्थे । उनले धेरै वर्षसम्म यसरी नै तपस्या गर्दै गए । उनी ज्यादै कमजोर हुँदै गए तर केही भेटेनन् । भोक पनि एउटा संवेग हो । भोकको संवेगलाई नियन्त्रण गर्न गाह्रो पर्छ । यस संवेगले गौतम बुद्धलाई पनि सताइरह्यो । उनले कतिगर्दा पनि सुखको अनुभूतिगर्न सकेनन् । उनले भोकै बसेर तपस्यागर्नु बेकार रहेछ भन्ने थाहा पाएपछि खानाखान थाले । तपस्या गर्ने क्रममा गौतम बुद्धले सबै किसिमका संवेगहरुलाई नियन्त्रण गर्न सिके । उसलाई सुखको अनुभूतिहुन थाल्यो । त्यही नै उनको ज्ञान प्राप्ती थियो ।गौतम बुद्धले सधैँ साँचो बोल्नु, चोरी नगर्नु, लोभी नहुनु, सबै प्राणीमाथि दया गर्नु, शुद्ध आचरण राख्नु, सानो भनेर हेला नगर्नु, ठूलाको आज्ञा पालन गर्नु जस्ता उपदेश दिँदै यी कुराको पालन गरेमा मानिस सुखी हुन्छ भनेका छन् । संवेगलाई नियन्त्रण गर्न नसक्दा नै मानिसले चोरी गर्छ, झुठो बोल्छ, मानिसको हत्या गर्न समेत सक्छ । त्यसैले चोरी नगर्नु, झुटो नबोल्नु, लोभी नहुनु, प्राणीको हत्या नगर्नु भनेको पनि संवेगलाई नियन्त्रण गर्नु हो । बुद्धले दिएका उपदेशहरुको आशय पनि यही हो ।
विभिन्न कुराले मानिसलाई उत्तेजित बनाउनु स्वभावि कै हो । तर सानो तिनो कुरामा पनि ज्यादै उत्तेजित हुनु तथा संवेगहरुलाई नियन्त्रित र व्यवस्थित गर्न नसक्नु चाहिँ कमजोरी हो । संवेगहरुलाई नियन्त्रण गर्न नसक्ने, क्षणमै रुने, क्षणमै हाँस्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । संवेगलाई नियन्त्रण गर्न सक्ने व्यक्तिलाई मात्र परिपक्व भनिन्छ । परिपक्व मानिस मात्र सुखी हुन्छन् । सुखमा नपातिने, दुःखमा नआत्तिने परिपक्वव्यक्तिलाई सबैले मान्छन् र यस्तै व्यक्तिको मात्र सबैले साथ चाहन्छन् ।

संवेगलाई नियन्त्रण गर्ने तथा सुखी रहने व्यवहारिक उपायहरु ः–
प्राप्तगर्न सकिने कुराकोमात्र चाहना राख्नुहोस् ःप्राप्तगर्न नसकिने वस्तुको चाहनाले सधैँ सताई रहन्छ । यस्तो चाहनाव्यक्तिको अचेतन मनमा गएर बसेको हुन्छ ।
यथार्थतालाई बुझ्नुहोस् ः
आफन्त मर्दा जो कोही रुन्छ यो स्वभाविक छ तर जन्मेपछि सबैले मर्नुपर्छ भन्ने सत्यलाई मनन नगरी आफन्तको वियोगमा सधैँ विछिप्त भएर हिँड्नु भने हुँदैन ।
व्यवहारिक बन्ने कोशिस गर्नुहोस्
दुःख सुख भोगेको व्यवहारिक मान्छे हतपति विचल्लित हुँदैन । उसमा संवेगलाई नियन्त्रण गर्ने बानी परेको हुन्छ ।
त्यागगर्ने बानी बसाल्नुहोस्
प्राप्तमात्र हैन मानिसले त्याग गर्न पनि सिक्नुपर्दछ । त्यागगर्ने बानी भएको व्यक्तिले असफलता, विछोड, हानी–नोक्सानी जस्ता कुरामा पनि चित्तबुझाउन सक्छ ।
अरु माथि ठूलो आशा नराख्नु होस्
अरुमाथि भर पर्ने, आशक्त व्यक्ति कहिल्यै सुखी हुन सक्दैन ।
शारीरिक स्वास्थ्यमा ध्यान दिनुहोस्
योग, ध्यानले मानिसलाई संयमित हुन मद्दत पु¥याउनेछ ।
संवेगलाई समायोजन गर्न सिक्नुहोस् ।
सधैँ संवेगलाई दवाउनै पर्छ भन्ने छैन । कसरी यसलाई व्यवस्थापनगर्ने भन्ने कुरा महत्वपूर्ण हो रिस उठेपछि प्रतिकार गर्ने वा रिसलाई शान्तहुन दिने भन्ने कुराको छिनोफानो विवेकको प्रयोग गरी गर्नुपर्छ । विचार पनि एक किसिमको संवेग हो । विचारले पनि मानिसलाई दुःख दिन्छ । विचारहरुलाई पनि नियन्त्रण गर्नुपर्छ ।
समस्याको समाधान खोज्नुहोस्
समस्याले मानिसलाई दुःखदिने हुँदा बेलैमा यसको हल गर्नपट्टि लाग्नुपर्छ । निरास। मनमा आउन नदिनुहोस् । सधैँ आशावादी बन्नुहोस् । आधारभूत आवश्यकता (भोक, प्यास, यौन) तथा अन्य अति आवशयक वस्तुको पूर्ति बेलैमा गर्नुहोस् ।
नकारात्मकताको उपयोग गर्नुहोस्
आफूलाई मन नपर्ने नकारात्मक कुरामा समेत सकारात्मकताको खोजीगर्नु पर्छ । डर, चिन्ता जस्ता नकारात्मक संयोगहरुको पनि सही उपयोग गर्न सक्नुपर्छ । यी र यस्ता कुरालाई व्यवहारमा लागू गर्न सकेको खण्डमा सबैको जीवन सुखमय हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी