काठमाडौं, चैत्र २७ ।
नुवाकोटको बेलकोटबाट कुखुरा लिएर काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ४२५१ नम्बरको मिनि ट्रक ककनी गाउँपालिका–४ स्थित पासाङ ल्हामु मार्गको त्रिशुली–काठमाडौं सडक खण्डमा दुर्घटना भएको छ ।
सडक विस्तारको क्रममा फालिएको पुरुवा माटोमा गाडी भाँसिएर सडकबाट करिब दुई सय मिटर तल खसेको हो । आज बिहान करिब पौने ३ बजे भएको उक्त दुर्घटनामा परी बेलकोटगढी नगरपालिका–२ कुमरीका २६ वर्षीय सुदन न्यौपाने र वडा नं. १ का २४ वर्षीय मच्छिन्द्र पुडासैनीको ज्यान गएको जिल्ला प्रहरीका एसपी देबबहादुर बोहराले जानकारी दिएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा न्यौपाने साहु रहेका छन् भने पुडासैनी चालक रहेका छन् ।
घाइते हुनेहरूमा बेलकोटगढी नगरपालिका–२ कुमरीका २७ वर्षीय श्रीकृष्ण न्यौपाने र २५ वर्षीय राममणी न्यौपाने रहेका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।