काठमाडौं, चैत्र २७ ।
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा शनिबारबाट सम्पन्न भएको छ । गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा शनिबार लगनमा रहेको रथबाट देवताको मूर्ति झिकेर खटयात्रा गर्दै जनबहालमा लगिएसँगै रथयात्रा समापन भएको हो ।
नगरका विभिन्न स्थान हुँदै बिहीबार लगनमा पुर्याइएको रथलाई उनकी मातासँग शुक्रबार भेट गराइएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन सुरु गरिने सो जात्रामा विभिन्न स्थानमा रथलाई बास बसाएर धार्मिक गतिविधि गरिएका थिए ।
वर्षमा विधि विधानपूर्वक एकपटक यसरी रथयात्रा गरिने चलन रहेको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका प्रतिनिधि विनोद तुलाधरले जानकारी दिए । रथयात्राको अवधिभर स्थानीय क्लब तथा सङ्घसंस्थाले समेत सहयोग गरेका थिए ।
उक्त अवसरमा जात्रा भर्न सर्वसाधारणको भीड लागेको थियो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रूपमा पुज्ने गर्छन् । मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ ।