इटहरी, २६ चैत । इटहरीको पकलमीमा आयोजना भएको दुई दिने मुस्लिम शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ ।
सम्मेलनमा सहभागी सरोकारवालाहरुले राज्यले खर्बौँ रुपियाँ शिक्षा क्षेत्रमा लगानी गर्दै आएको भए पनि मुस्लिम समुदायका बालबालिकाको शैक्षिकस्तरमाथि उकास्ने विषयमा भने ध्यान नदिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
सुनसरी जिल्लामामात्र झन्डै तीन लाख मुस्लिम समुदायको बसोवास रहेको र मुस्लिम बालबालिकाको अध्ययनका लागि यस जिल्लामा ८३ वटा मदरसाले शैक्षिक सेवा प्रदान गर्दैआएको छ ।
तर दुई अर्ब भन्दा बढी शिक्षा क्षेत्रमा लगानी भए पनि राज्य पक्षबाट यस जिल्लाको मुस्लिम समुदायको शैक्षिक क्षेत्रमा भने ज्यादै कम सहयोग प्राप्त हुने गरेकोमा मुस्लिम नेताहरुले गुनासो गर्नुभएको छ ।
सरकारको शिक्षा मन्त्रालयमार्फत यस जिल्लाको मदरसाका लागि न्यूनतमप्रति मदरसा ५० हजारदेखि डेढ लाख रुपियाँसम्म सहयोग उपलब्ध हुँदै आएको र त्यो ज्यादै न्यून सहयोग भएको पनि मुस्लिम शिक्षकहरुको भनाइ छ ।
एक,एक मदरसा रहेको सुनसरी जिल्लाको जल्पापुर, रामनगर भुटाहा, भोक्राहा र सोनापुर जस्ता स्थानमा ठूला मदरसाहरुले मुस्लिम समुदायका बालबालिकाको शैक्षिक अवस्था उकास्ने प्रयास भईरहेको छ ।
तर सरकारीस्तरबाट भने अपेक्षाकृत सहयोग प्राप्त नहुने गरेकाले न्यूनतम सहयोगलाई अधिकतम उपयोग गर्नु मुस्लिम समुदायको बाध्यता रहँदै आएको शैक्षिक सम्मेलनका वक्ताको भनाइ छ ।