काठमाडौँ, २५ चैत ।
नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन तयारीबार आज निर्वाचन आयोगसँग जानकारी लिएको छ ।
काग्रेस केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले आज आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो ।
सो क्रममा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउन सक्ने चुनौती र ऐन कानुनमा देखिएको कमी कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिनुभयो ।
छलफलमा उहाँहरुबीच स्थानीय तहको निर्वाचन उम्मेदवार छनोटको विधि र प्रक्रियाका सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।
पार्टीको विधानअनुरुप केन्द्रीय पदाधिकारीलाई उक्त जिम्मेवारी प्रदान गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा पनि गहन छलफल भएको जनाईएको छ ।
आयोगले निर्वाचन तयारी राम्रो गरेको महसुस भएको जानकारी गराएको रक्षामन्त्री खाँणले केही जिल्लामा बोलाएको समयमा राजनीतिक दलका प्रतिनिधि उपस्थित नभएका कारण जटिलता र समस्या आएको आयोगले जानकारी गराएको बताउनु भयो ।
काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो ।
सन्चारकर्मीको जिज्ञासामा रक्षामन्त्री खाँणले सबैलाई समन्वय गरेर सुरक्षा प्रदान गर्ने उद्देश्यसहित नेपाली सेना सुरक्षाको बाहिरी घेरामा रहेर निर्वाचनमा खटिने जानकारी गराउनु भयो ।