ह्वाईट प्यागोडामा प्रचण्डका तस्विरहरु –रमेश हतुवाली

ह्वाईट प्यागोडामा प्रचण्डका तस्विरहरु –रमेश हतुवाली

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाडौँ, २३ चैत ।

नेपाल र छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनबीचको सम्बन्धलाई वास्तुकलाको माध्यमबाट जनस्तरसम्म फैलाउन राष्ट्रिय विभूति अरनिकोको महत्वपूर्ण योगदान रहेको छ । अरनिकोको जन्म सन् १२४४ मा पाटन(नेपाल)मा भएको थियो ।

प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको लक्ष्मण र सुमाखचीका छोरा थिए । उनी प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकारको रुपमा चीन, मंगोलिया, कोरिया हुँदै उत्तर एसियामा चर्चित भए ।
युरोपीय प्रायद्वीपमा औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति(निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो (अरनिको) । उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्ध भए ।

अरनिको कलाकार मात्रै थिएनन् उनी मूर्तिकार र वैज्ञानिक पनि थिए । वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए ।

उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ । यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए ।
तत्कालिन युवान साम्राज्यका सम्राट कुब्लई खाँ ले आफ्ना बुद्धिष्ट गुरु पाहस पालाई तिब्बतको शाक्य भन्ने ठाउँमा सुवर्ण स्तुप बनाउन लगाएका थिए । सो कार्य सम्पन्न गर्न गुरु पाहस पाले नेपालबाट एक सय जना स्तुप निर्माण गर्ने शिल्पकारहरु मगाएका थिए । तर त्यसबेला तत्कालिन नेपालका राजा जय भीमदेवले १७ वर्षे युवा कलाकार अरनिकोको नेतृत्वमा २४ जना शिल्पकार मात्र तिब्बत पठाएका थिए । तिब्बत पुगेर पाहस पाको आदेश बमोजिम सुवर्ण स्तुप र सत्तलहरु समेत गरी दुई वर्षमा निर्माण कार्य सम्पन्न गरिदिए ।

यसरी अरनिकोको अतुलनीय प्रतिभा देखेर गुरु अत्यन्त खुसी हुँदै अरनिकोलाई नेपाल नफर्काई चीनका सम्राट समक्ष पेईचिङ लिएर गए । चीनका तत्कालिन सम्राट कुब्लई खाँ ले तिमिलाई म जस्तो सम्राटको अगाडी उभिँदा डर लागेन ? भनि प्रश्न गर्दा अरनिकोले हामी नेपाली राजा र सम्राटलाई आफ्नो अभिभावक मान्छौं, आफ्नो अभिभावकको अगाडी आउँदा पनि कोहि डराउँछ भनि साहसी जवाफ दिएका थिए साथै उनले आफ्नो परिचय दिँदै चित्रकला र मूर्ति ढाल्ने र कुँद्ने काम गर्छु भनि जाहेर गरेका थिए ।

अरनिकोको परीक्षा लिन राजाले आफ्नै बैठक कोठामा भएको ठूलो नक्सा सहितको मानिसको जस्तै बिग्रेको मूर्ति मर्मत गर्न लगाए । अरनिकोले सन् १२६५ मा त्यसको मर्मत गरी पहिलेको पुरानो भन्दा अझ धेरै राम्रो र जोड्नी र नशा समेत स्पष्ट देखिने गरी नयाँ मूर्ति बनाएर दिए ।

अरनिकोले बनाएको चमत्कारी कलाकारितालाई देखेर उनलाई साँच्चैको भगवानको अवतार भनी सबैतिर प्रशंसा गर्न थालियो भने सम्राटले उनलाई प्रधानमन्त्री सरहको पदवी दिई अनेकौं बहुमुल्य उपहार साथ सम्मान गरे । चीनमा उनलाई क्वान्ह्यु नाइफ र “नासथु” उपाधी दिइएको थियो । तत्कालिन बादशाहले उनलाई “साङ्नु” भन्ने दर्जा पनि दिइएको थियो ।

अरनिकोले आफ्नो जीवनकालमा तामा, पित्तल र जस्ता आदि धातुबाट मिश्रीतधातु बनाउने, ती धातु मिश्रीत हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूर्णज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ ।
ज्योतिष विज्ञान पनि निपुण अरनिकोले एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिषगणितमा प्रयोग हुने यन्त्रसमेत निर्माण गरेका थिए । यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमूनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए भनिन्छ ।

त्यस्तै अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका थिए । उनको मृत्यु सन् १३०६ मा पहिलो महिनामा पेकिङमा भएको थियो ।
आफ्नो सम्पूर्ण जीवन चीनमै विताएका अरनिकोले चीनको पेइचिङ र नानचिङमा धेरै मन्दिर, मूर्ति तथा चैत्यहरु बनाए ।

अरनिकोले पेईचिङमा विश्व प्रसिद्ध अत्यन्त ठूलो श्वेत चैत्यको मन्दिर समेत बनाए । जुन स्तुपलाई आज पनि नेपाल–चीन सम्बन्धको सांस्कृतिक धरोहरको रुपमा सुरक्षित राखिएको छ । नेपाली कलाकार अरनिको चीन गएर वास्तुकला निर्माण क्षेत्रमा विशिष्ट योगदान गरेका जस्ता अनेक ऐतिहासिक घटनाक्रमबाट नेपाल–चीन सम्बन्ध अरु खारिएको छ ।
जब म विहान सवेरै घुम्दा पैचिंगको ह्वाईट प्यागोडा देख्छु त्यतिवेला मलाई नेपालको सम्झना आउने गर्दछ ।

राजा वीरेन्द्रले आफ्नो अन्तिम चीन भ्रमणमा तत्कालिन राष्ट्राध्यक्ष च्याङ चमिनबाट भब्य स्वागत सम्मान प्राप्त गरेका थिए । सो अवसरमा च्याङ चमिनले राजा वीरेन्द्रलाई नेपाल र चीनबीचको ऐतिहासिक कालदेखिको प्रगाढ सम्बन्धबारे चर्चा गर्दै भनेका थिए “जब म विहान सवेरै घुम्दा पैचिंगको ह्वाईट प्यागोडा देख्छु त्यतिवेला मलाई नेपालको सम्झना आउने गर्दछ” । राष्ट्राध्यक्ष च्याङ चमिनबाट व्यक्त यो मार्मिक विचारले नेपाल र चीनबीचको घनिष्ट मित्रतालाई छर्लङ्ग पारेको छ ।

राजधानी पैचिंगको “ह्वाईट प्यागोडा” त्यहि पवित्र भूमि, त्यही प्राचिन स्थल, त्यही ऐतिहासिक सम्पदा जहाँ महान नेपाली कलाकार अरनिको र उनका सहकर्मीहरुले जीवनका अत्यन्त उर्बर समय विताए, नेपाली श्रम, सीप र स्वाभिमानको प्रदर्शन गरे जहाँ दैनिक हजारौंको संख्यामा चिनिया तथा विदेशी पर्यटकहरु आउने गर्दछन् सो स्थलमा यस पटकको चीन भ्रमणका सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरनिकोले निर्माण गरेको सेतो प्यागोडाको पवित्र आँगनमा पाईला चाले । त्यो पवित्र आँगनको परिक्रमा गरे ।

परराष्ट्र मन्त्री प्रकाश सरण महत, नेपालका लागि चिनिया राजदूत यु होङ, चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल लगायतका उच्च पदस्थ नेपाली तथा चिनिया अधिकारीहरुको उपस्थितीमा प्रधानमन्त्री दाहालले सालिकमै सही अरनिकोसँग साक्षात्कार गरी अपार गर्वको अनुभूती गरे ।

अरनिको र ह्वाईट प्यागोडाको सम्झनामा झण्डै आधा दर्जन तस्विर खिचाए । २०१७ को मार्च २६ तारिखको त्यो साँझ हामी दुवै मुलुकका नागरिकहरुको लागि सुखद् दिन बन्यो । ह्वाईट प्यागोडाको सामिप्यताले प्रधानमन्त्री प्रचण्डलाई अरनिकोले महाचीनमा पुर्याएको योगदानबारे धेरै कुरा सिक्न मद्दत गरेको हुनुपर्छ ।

निक्कै ठूलो प्रयास पश्चात अरनिको समाजले २५ अक्टोवर सन् २००१ मा महान कलाकार अरनिकोको सालीक स्थापना गरे पश्चात पहिलो पटक नेपालका प्रधानमन्त्रीले अरनिकोको त्यो पवित्र आँगनको परिक्रमा गरेका हुन् ।

साम्यवादीहरुको लागि पवित्र तीर्थस्थल मानिने चीनको राजधानी पैचिंगको मध्य भागमा रहेको ह्वाईट प्यागोडाको संरक्षणमा चीनको कम्युनिष्ट सरकारले पुर्याएको ख्याल विचारबाट अब माओवादी आन्दोलनकै वलमा सत्तामा विराजमान रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका अनुयायीहरुले पाठ सिक्दै प्राचिन भाषा, कला, संस्कृति, साहित्य र इतिहासको संरक्षण र विकासमा लाग्ने प्रण गरेमा नेपालको समृद्धिमा इटाहरु थपिने थिए ।

महाभूकम्पले जर्जर र ध्वस्त पारेको नेपालका साँस्कृतिक धरोहरहरुले पुनर्जीवन प्राप्त गर्ने थिए, यो सुन्दर अनि पावन भूमीको दर्शन गर्न लाखौं पर्यटकहरु नेपाल आउने थिए, अनि पो प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण सफल भएको अनुभव गर्न सकिन्थ्यो त ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी