काठमाडौं, चैत्र २२ ।
सहकाल र करुणाका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथको रथ जात्रा आजबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन आर्यावलोकितेश्वर भनिने सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने गर्दछ ।
काठमाडौंको जमलस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गरेपछि नौ तले रथयात्रा सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मूर्तिलाई केलटोलमा रहेको मन्दिरबाट बोकेर तीनधारा पाठशाला पुर्याउने गरिन्छ ।
जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइन्छ । वृद्धवृद्धाहरूलाई दर्शन गराउनका लागि आर्य अवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई रथमा नगर परिक्रमा गराउने चलन छ ।
किम्बदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापु अर्थात किसानले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए ।
उक्त मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाई राख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्न दाता नाम दिई जनबहालमा स्थापना गरिएको किम्बदन्ती रहेको छ । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको हो ।
काठमाडौंको जनबहाल र काभ्रेको नालामा रहेको सेतो मच्छिन्द्रनाथ तथा ललितपुर बुङ्गमती र चोभारको रातो मच्छिन्द्रनाथ गरी नेपालमा चार वटा मच्छिन्द्रनाथ रहेका छन् ।
धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्य सम्प्रदायले शक्ति र बौद्ध महायान तथा बज्रयान सम्प्रदायले आर्य अवलोकितेश्वरको रूपमा पुज्ने गर्दछन् ।
लगनटोलस्थित मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराई सकेपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ ।