काठमाडौँ, २२ चैत ।
स्थानीय तह निर्वाचनामा मतदातालाई सुसूचित गर्ने उदेश्यले आजदेखि देशैभर एकसाथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको निर्वाचन हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ ।
निर्वाचन आयोगले देशका ७५ जिल्लामा एकैसाथ यो तालिम सुरु गरेको हो । पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् ।
सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिनुभयो । तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइनेछ ।
मतदाता शिक्षा स्वयंसेवकले तालिम पछि एक करोड ४० लाख ५४ हजार ४८२ मतदातालाई मतदाता शिक्षाबारे जानकारी गराउनुपर्छ ।
गत संविधानसभाको तुलनामा यसपटक १९ लाख २१ हजार ८४९ मतदाता थपिएका छन् । एउटा मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ मतदाताका दरले एक महिनामा ६७० मतदातालाई भोट खसाल्ने तरिकाबारे घरघरमा पुगेर व्यावहारिक रुपमा शिक्षा दिनेछन् ।