धनुषा, २२ चैत ।
नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक रामलोचन ठाकुर रु २२ हजार घुस सहित पक्राउ परेका छन् ।
जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग घुस लिएको रकमसहित ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट पक्राउ गरेको हो ।
गोप्य उजुरीका आधारमा आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटेको टोलीले ठाकुरलाई पक्राउ गरेको जनाईएको छ ।
सेवाग्राहीसँग सर्वेक्षक ठाकुरले घुस लिएर काम गर्ने कोठामा गएको समयमा अख्तियारको टोलीले उनलाई खानतलासी गरेपछि रु २२ हजार घुसको रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रहरी उपरीक्षक लम्सालले जानकारी दिनुभयो ।
अख्तियारले विगत केही दिनदेखि मालपोत, नापीलगायत सेवाग्राहीको बढी भीड रहने कार्यालयमा अनुगमन बढाएको छ ।
धनुषाकै नापी कार्यालयबाटै आइतबारमात्र नापी कार्यालयकै अमिन कृष्ण जोशीलाई समेत रु ३० हजार घुसको रकमसहित पक्राउ गरेको थियो ।