काठमाण्डौ ,१८ चैत ।
चीनको सछुवान प्रान्त जनसरकार उपप्रमुख चू हसिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डल र अरनिको समाजका पदाधिकारीवीच भेटवार्ता सम्पन्न भएको छ ।
काठमाडौं चाईना टाउन स्थित अरनिको समाजको कार्यालयमा बुधवार विहान आयोजित सो भेटवार्ताका क्रममा उपप्रमुख चू हसिनले नेपाल र चीन प्राचिन कालदेखिका असल मित्र भएको बताउँदै चीनको सछुवान प्रान्त र नेपालबीचको आदान प्रदान आगामी दिनहरुमा अझ बढ्दै जाने विश्वास गरे । उपप्रमुख चू हसिनले सछुवान प्रान्तको विस्तृत जानकारी दिनुका साथै सछुवान प्रान्तले हालैका वर्षहरुमा प्राप्त गरेका विकास निर्माण सम्बन्धि उपलब्धिहरु समेत प्रस्तुत गरे । साथै उपप्रमुख चूले सछुवान प्रान्तका नेपालमा हुने सम्पूर्ण कार्यक्रमहरु अरनिको समाजसँग मिलेर गर्न आफुहरु ईच्छुक भएको प्रष्ट पारे ।

सो अवसरमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले चिनिया प्रतिनिधि मण्डलको स्वागत गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकसित गर्न स्थापना कालदेखि अरनिको समाजले निर्वाह गरेको भूमिका जानकारी गराए । चीनमा चिकित्साशास्त्र र ईन्जिनियरिङ विषयमा उच्च शिक्षा हासिल गरि फर्किएका नेपालीहरुको साझा संगठनको रुपमा स्थापित अरनिको समाजले नेपालस्थित चिनिया राजदूतावास र चीनका प्रतिष्ठित संघसंस्थाहरुसँग मिलेर नेपाली जनताको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोगलाई निरन्तर अगाडी बढाईरहेको जानकारी समेत गराए ।
काठमाडौंमा आयोजना भएको सछुवान खाना महोत्सवको प्रमुख अतिथीको रुपमा आउनु भएका चू हसिनको नेतृत्वमा ६ सदस्यीय सरकारी प्रतिनिधि मण्डल र विभिन्न क्षेत्रका व्यवसायी समेत गरी ३५ जनाको सहभागीता रहेको छ ।