काठमाडौं, चैत्र १७ ।
चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले चलाउँदै गरेको गाडीलाई पछाडिबाट ठक्कर दिँदा उनको कारमा क्षति पुगेको छ भने कलाकार आचार्य सुरक्षित रहेका छन् । उनले चलाएको बा. १३ च १२२९ नम्बरको कारलाई पछाडिबाट आउँदै गरेको बसले ठक्कर दिएको हो । काठमाडौंको रामशाहपथस्थित सर्वोच्च अदालतनजिक कलाकार आचार्यको गाडीलाई बसले ठक्कर दिएको हो ।
गल्ती दुबैको रहेको बुझिएको छ । बसको ठक्करबाट उनको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । कलाकार आचार्यले भने, ‘म सुरक्षित छु, मान्छेले बाटो काट्दाखेरी यो दुर्घटना भएको हो,’ उनले भने, ‘गाडीको पछाडि भागमा क्षति पुगेको छ ।’
उनकाअनुसार गाडी गुडिरहेको अवस्थामा एक जना व्यक्तिले सडक काटेपछि दुर्घटना हुन पुगेको हो । मान्छेले बाटो काटेपछि कलाकार आचार्यले ब्रेक लगाएका थिए । त्यहीँ बेला पछाडिबाट आएको बसले कारलाई ठक्कर दिएको हो ।