चितवन, १३ चैत । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ ।
जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।
काठमाडौँ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौँडालगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उहाँले बताउनुभयो ।
कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित सङ्घ सङ्गठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको सेढाईंले बताउनुभयो ।
दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उहाँको भनाइ छ । सङ्घ सङ्गठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको छ र प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ ।