काठमाडौं १२ चैत।
काठमाडौंको गोंगुबको चोकस्थित लक्ष्मिनगरमा रहेको गोंगबुस्थित बुक स्टोर र ट्राभल अफिसमा आगलागी हुँदा १८ लाखको क्षति भएको छ ।
शनिवार अपरान्ह साढे ४ बजे आकाशेपुल नजिक रहेको श्रेष्ठ बुक स्टोर्स र सागा ट्राभल एन्ड टुर्स प्रालीको कार्यालयमा आगलागी भएको हो ।
राजकुमार श्रेष्ठको किताब पसलमा सल्केको आगोले उक्त पसलसँगै ट्राभल अफिसमा रहेका महत्वपूर्ण कागजपत्र तथा फर्निचर जलेको प्रहरीले जनाएको छ ।
इन्भर्टरमा विद्युत् सर्टसर्किट भई फैलिएको आगोले बुक पसलमा रहेका सम्पूर्ण किताब जलेर नष्ट हुँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको पसल सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।
किताब पसलबाट फैलिएको आगोले सँगै रहेको सागा ट्राभलको अफिसमा रहेका फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको सागाका सञ्चालक स्वच्छम गुरुङले बताउनु भयो ।
आगो स्थानीयबासी, २ ओटा दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा करिब सवा १ घण्टापछि नियन्त्रणमा आएको गोगंबु प्रहरी प्रभागका असई भयराम श्रेष्ठले बताउनु भएको छ ।

