मलेसिया १२, चैत ।
कामको सिलसिलामा मलेसियामा रहेका ५ हजार भन्दा बढी नेपालीलाई त्यहाको सरकारले अवैधानिक पुष्टि गरेको छ ।
विभिन्न किसिमका आरोप लागेका, भिसा हराएका र म्याद सकिएका तथा अन्य उजुरीका आधारमा ५ हजार नेपाली अलपत्र अवस्थामा रहेको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।
अवैधानिक भएका नेपालीहरुमध्ये आधाजसो जेलमा रहेको र आधाजसोलाई डिटरमिनेनसमा राखिएको पुष्टि भएको नेपालका लागि मलेसियाका राजदूत निरन्जनमान सिंह बस्न्यातले बताउनु भयो ।
अहिले झण्डै २५ सय नेपालीलाई जेल चलान गरिएको दुतावासको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तै तिमध्य २५ सय जतिलाई स्वदेश स्वदेश फर्काउने तयारी गरिएको दुतावसाले जनाएको छ ।
दूतावासका अनुसार अहिले मलेसियामा कामदार तथा व्यवसायमा संलग्न गरी ६ लाख भन्दा बढी नेपाली छन् ।
स्वदेश फिर्ताको प्रक्रियामा रहेका नेपालीहरु आफ्नै खर्चबाट नेपाल फर्कन सक्ने स्थिति छैन । मलेसियामा रहेको नेपाली दूतावासले सरकारसँग आवश्यक रकम माग गरेकोमा सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ पर्याप्त नभएपछि दूतावासले थप रकम खोजी गरेको राजदूत बस्न्यातले जानकारी दिनुभयो ।
सरकारले ५० लाख उपलव्ध गराएपछि नेपालका लागि उडान हुने जहाजमा सस्तो दरको टिकट व्यवस्था गर्नको लागि दूतावासले एयरलायन्सहरुलाई आग्रह गरिसकेको छ ।
एकै पटकमा सबै लाई स्वदेश फर्काउन समस्या पर्ने भएता पनि केही महिनामा २५ सय नेपालीलाई पालै–पालो नेपाल फर्काइने मलेसियाका लागि राजदूत निरन्जनमान सिंह बस्न्यातले जानकारी दिनुभयो ।