काठमडौ ११ चैत्र ।
म्याग्दीमा आगामी वैशाख ३१ मा हनुे स्थानीय तह निर्वाचनका लागि ७२ वटा मतदानस्थल तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीको बेनी नगरपालिकामा सबैभन्दा धेरै १७ वटा मतदानस्थल तोकिएको छ ।
त्यसैगरी, रघुगङ्गा गाउँपालिकामा १४, धौलागिरि गाउँपालिकामा १२, मालिका गाउँपालिकामा नौ, मङ्गला गाउँपालिकामा सात र अन्नपूर्ण गाउँपालिकामा १३ मतदानस्थल तोकिएको छ ।
जिल्ला मतदान केन्द्र सिफारिस समितिले जिल्लामा रहेका एक नगरपालिकासहित पाँच गाउँपालिकामा निर्वाचन गराउन ती मतदानस्थल निर्धारण गरेको हो ।
मतदानस्थल ७२ वटा रहेपनि मतदाता संख्याका आधारमा मतदान केन्द्र निर्धारण गरिने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको संख्याका आधारमा एक हजारभन्दा बढी मतदाता भएमा एउटै मतदानस्थलमा पनि एकभन्दा बढी मतदान केन्द्र तोकिने उहाँले बताउनुभयो ।
म्याग्दीमा आगामी वैशाखमा हुने निर्वाचनमा करिब ७२ हजार मतदाताले सहभागिता जनाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाबाट ७१ हजार नौसय १२ जना मतदाताको नामावली अध्यावधिक गरी निर्वाचन आयोगमा पठाइएको छ ।
स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा १२ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलमा चहलपहल सुरु भएको छ ।