काठमाडौ १० चैत्र ।
चीनीयाँ रक्षामन्त्री जनरल चाङ वाङक्वान तीन दिने भ्रमणका लागि आज नेपाल आउदै हुनुहुन्छ । रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा चाङ नेतृत्वको १९ सदस्यीय चिनियाँ टोली नेपाल आउन लागेको हो ।
रक्षामन्त्री चाङले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारस्थित सरकारी निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । यस्तै चाङ र समकक्षी खाँडबीच पनि आजै सिंहरदरबारमा भेट हुने रक्षा मन्त्रालयले जनाएको छ ।
भेटमा चीन नेपालबीच रक्षा सहकार्यबारे कुराकानी हुने बताइएको छ । यस्तै चीनले नेपाली सेनालाई दिने सैनय सहयोग पृद्धिसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने सम्भावना रहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुहुनेछ भने वसन्तपुरस्थित भूकम्पबाट क्षतिग्रस्त सम्पदाको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।
नेपाल चीनबीच हुन लागेको संयुक्त सैन्य अभ्यासको पूर्व सन्ध्यामा हुन लागेको रक्षामन्त्री चाङको भ्रमणका क्रममा राष्ट्रसंघिय शान्ति सेनामा खटिने नेपाली सैनिकका लागि प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने रक्षामन्त्री खाँडले जानकारी दिनुभयो ।
यस्तै भ्रमणका क्रममा चाङले रक्षामन्त्री खाँडसहित राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, प्रधान सेनापति राजेन्द्र क्षेत्रि लगायतसँग भेट गर्नुहुनेछ । चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास गरिएको छ ।
नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।