चितवन, चैत ९ ।
चितवनको दारेचोकस्थित कुरिनघाट नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते भएका बोलेरो चालक तामाङको उपचारका लागि भरतपुर लादै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
नारायणगढबाट काठमाडौँ तर्फ आउदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुने तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षीय सुरज पोखरेलको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विहान करिब २ बजेतिर साबिक दारेचोक–७ कुरिटघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा पुगेको थियो । ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।