काठमाडौ ६ चैत्र ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो बस्ने आजको बैठकबाट स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण दुईवटा विधेयक पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गर्ने निर्वाचन क्षेत्र निर्धारण विधेयक र उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण सम्बन्धी विधेयक पेश गर्नु हुनेछ ।
दुवै विधेयकमाथि संसदमा सामान्य छलफलपछि आजै पारित गर्ने कार्यसूचि रहेको सचिवालयले जनाएको छ । यस्तै, आजको बैठकबाट पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सुविधा सम्बन्धी विधेयक पनि पारित गर्ने तयारी छ ।
संसदले पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न लागेको हो । यो विधेयक सामन्य छलफलका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले पेश गर्नुहुनेछ ।
यसैगरी आजै प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सेवा र सुविधाका अन्य शर्त सम्बन्धी विधेयक पनि समितिमा छलफलका लागि पठाउनेछ ।