रुद्र खड्का
सिन्धुली, ५ चैत । सिन्धुली अस्पताललाई स्तरोन्नती गरेर ५० शैयाको बनाईएको छ । तर अस्पतालको स्तारोन्नती गरिए पनि मन्त्रालयले जनशक्ति नपठाउदा विरामी भने समस्यामा परेका छन् ।
गगन थापा स्वास्थ्य मन्त्री भएपछि मन्त्रालयले सिन्धुली अस्पतालमा आवश्यक जनशक्ति पठाउन आलटाल गरेको अस्पताल विकास समिति सिन्धुलीका अध्यक्ष बिनोद खड्काले बताउनुभयो ।
अस्पतालको प्रमुख ११ औं तहको हुनु पर्ने भएपनि अस्पताल अहिले ९ औं तहको निमित्तको भरमा सञ्चालनमा हँुदै आएको छ ।
आफुले सिन्धुली अस्पतालको विकासका लागि विकास समितिले लिएर गएका विषयहरुमा विगतमा मन्त्रालयले गर्ने सहयोग जस्तो अहिले नभएको खड्काको गुनासो छ । “अहिले विभिन्न मिडियामा गगन थापा स्वास्थ्य मन्त्री भएपछि सुधारका कुरा आए पनि सिन्धुली अस्पताललाई भने असहयोग गरिएको” खड्काको दाबी छ । हाल अस्पतालमा ७ जना विशेषज्ञको अभाव छ ।
मन्त्रालयले बाल रोग विशेषज्ञ सहित अन्य विशेषज्ञ टोली पठाउने तयारी गरी नियुक्ति पत्र समेत बनाएको भए पनि स्वास्थ्य मन्त्री थापाको निर्देशनमा रोकिएको खड्काले जानकारी गराउनु भयो ।
यसरी मन्त्री आफँैले आवश्यक जनशक्ति रोकिदिदा सिन्धुलीका विरामीहरु भने मर्कामा परेका छन् । सिन्धुलीमा अझै सर्जन, जनरल फिजिसियन, बाल विशेषज्ञ, रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिस्ट, अल्ट्रासोनिलिष्ट लगाएतका विशेषज्ञ पठाउन आलटाल गरेको छ ।
विशेषज्ञ सिन्धुली अस्पतालमा नहुँदा विरामीहरु आवश्यक उपचारका लागि अझै राजधानी धाउन बाध्य भएका छन् । सिन्धुली जिल्लामा सबै विशेषज्ञहरु आउन तयार भएपनि मन्त्रालयबाटै रोकिएको छ ।
सिन्धुलीको सरकारी अस्पताल विगतको तुलनामा अहिले सुधार भएको तर अझै मन्त्रालयले चासो नदिदा अपेक्षा अनुसारको सुधार गर्न सकिएको छैन् ।
सिन्धुलीमा नवौ तहकी डाक्टर सुमित्रा गौतमलाई निमित्त अस्पताल प्रमुख तोकेपछि मन्त्रालयले सिन्धुलीमा १० आंै र ११ औं तहका विशेषज्ञ डाक्टरले सिन्धुली अस्पतालको नियुक्ति पत्र पाएपछि स्वास्थ्य मन्त्री गंगन थापाले रोकेको स्रोतले बतायो । राजनीतिक आस्थाका आधारमा सिन्धुलीमा गौतमले निमित्त चलाई रहदा उहाँ भन्दा माथिल्लो दर्जाको विशेषज्ञ आएपछि कार्यालय प्रमुख नहुने उद्देश्यले सिन्धुलीमा बिशेषज्ञ मन्त्री थापाले नपठाएका हुन् ।
सिन्धुलीमा अहिले दैनिक १ सय ५० देखी २ सय सम्म बिरामी उपचार गराउन आउने गरेका छन् । विगतका बर्षमा दैनिक २० देखी ३० जनासम्म बिरामी आउने गरेकोमा अहिले बिरामीको चाप बढेको छ ।