काठमाडौ ३ चैत्र ।
नदी व्यवस्थापन र संरक्षणका लागि बृहत छलफल गर्न आजदेखि दोस्रो नदी शिखर सम्मेलन सुरु हुँदैछ । नदीसँग सरोकार राख्ने सरकारी, गैरसरकारी, विकास साझेदार तथा आश्रित समुदायको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।
यही चैत ६ गतेसम्म चल्ने सम्मेलनबाट नदी व्यवस्थापको काम गर्न, पारिस्थितिक प्रणालीको पुनर्उद्धार, जैविक विविधता संरक्षण तथा पुनर्उत्थानको लागि रणनीति एवं ढाँचा तर्जुमा गर्न सहयोग पुग्ने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।
सम्मेलनमा भारत, अमेरिका, पाकिस्तान, भुटान र बेलायतका विशेषज्ञसहित विभिन्न क्षेत्रका विज्ञ, कानुनविद, व्यापारी, अभियन्ता, विद्युत उत्पादक लगायत गरी १ सय ६० जनाको सहभागिता रहनेछ ।
नेपाल नदी संरक्षण संस्था, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र युथ एलायन्स फर इन्भारोमेन्टको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन गोरखा र धादिङको सिमानामा पर्ने त्रिशूली नदीको किनारमा मनाइनेछ ।