भीमदत्तनगर, ३ चैत । पाँच दिनअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर निधन भएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको शरिभित्रै गोली भेटिएको छ ।
कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा पोष्टमार्टमका क्रममा मृतक गौतमको शरीरमै गोली भेटिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले बताउनुभयो ।
परीक्षणका क्रममा शरीरमा भेटिएको गोली निकालेर प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिदै प्रहरीनायब महानिरीक्षक देउजाले विधिविज्ञान प्रयोगशाला पठाईएको जानकारी दिनुभयो ।
त्यहाँबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्ने उहाँको भनाई छ ।
सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उहाँको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जनाईएको छ ।
उता प्रहरी केन्द्रीय कार्यालयअन्तर्गत रहेको विधिविज्ञान प्रयोगशालाका एक प्रहरी अधिकारीले गौतम हत्याको गोली प्रयोगबारे रिपोर्ट बनाएर सुदूरपश्चिम पठाइसकेको जानकारी दिनुभयो । उहाँले प्रयोगशालाबाट रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । शवपरीक्षण रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
त्यसैगरी, घटनाकै दिन गत बिहीबार नेपाल तथा भारतीय पक्षबीच आनन्द बजारको सीमाक्षेत्रमा भएको झडपका क्रममा नेपाल प्रहरीका अधिकारीको हराएको एक थान पेस्तोल र सात राउन्ड गोली अझै भेटिएको छैन ।
सीमाक्षेत्रमा भारतीय पक्षले लखेट्ने क्रममा प्रहरी सहायक निरीक्षकको साथमा रहेको लोडेड चाइनिज पेस्तोल भाग्ने क्रममा हराएको प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले हराएको पेस्तोलबारे बाहिर खुलाएको छैन । पेस्तोल खोज्न प्रहरी छानबिन टोली लै गठन गरी परिचालन गरिएको छ ।
घटनापछि कञ्चनपुरको गड्डाचौकी, बेलौरी, आनन्दबजार क्षेत्रका नेपाल–भारत आवत–जावत गर्न नाका सहज बन्न सकेका छैनन् । गौतमको हत्यासँगै दुई दिनसम्म यहाँको स्थिति तनावग्रस्त बन्नुका साथै नेपाली पक्षले भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि आगजनी गर्न थालेपछि सीमानाकामा समेत आवागमनमा असहजता थपिएको थियो ।