काठमाडौँ, २ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत्भार कटौतीको अन्त्यले सम्पूर्ण विकास प्रक्रियालाई नयाँ गति दिँदै नयाँ सभ्यताको सुरुवात भएको बताउनुभएको छ ।
नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा सरकारको योजना अनुरुप देशलाई अँध्यारो युगबाट उज्यालो युगमा लैजाने प्रयास गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “सरकारले धेरै काम गर्न बाँकी नै छ । सरकारको सङ्कल्प भनेको देशलाई अँध्यारोमा राखेर देशलाई पछौटे राखिराख्न हुन्न भनेर विद्युत्भार कटौतीको अन्त्य गरिएको हो ।”
प्रधानमन्त्री दाहालले विदेशबाट आयातीत औषधिको बिक्री वितरण गर्ने प्रबन्धकका समस्याबारे छलफल गरी सम्बोधन गरिने पनि बताउनुभयो ।
नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका अध्यक्ष सुरजित दत्तले सरकारले विद्युत्भार कटौती अन्त्य गरी ठूलो गुन लगाएको बताउनुभयो । उहाँले नेपालमा आयातीत औषधिको बिक्री–वितरण व्यवस्थित गर्ने जिम्मा लिएका प्रबन्धकबारे राज्यले ध्यान नदिएको, उनीहरुका समस्या सम्बोधन नभएको गुनासो गर्नुभयो ।
सोही अवसरमा विद्युत्भार कटौतीको समस्याले आफूहरु विदेशमा पनि निकै लज्जित हुनु परेको अवस्थामा यसको अन्त्यले सबैभन्दा संवेदनशील औषधिको फ्रिजिङमा निकै ठूलो काम गरेको भन्दै सङ्घले प्रधानमन्त्रीलाई धन्यवाद दिई सम्मानसमेत गरेको छ ।