काठमाडौं, फागुन ३०।
तराईका जिल्लामा आज हर्षोल्लासका साथ फागु अर्थात होली पर्व मनाईंदै छ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानै देखि सुरु भएको छ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने प्रचलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।
होली मनाइने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भने हिजो होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाडौं सहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।
धार्मिक कथन अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले छल गरी आगोबाट नजल्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।
यसैबिच महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने दुई सय १३ जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले हिजो उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो ।