जुम्ला, २९ फागुन ।
लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन कस्टकर बनेको छ । उक्त क्षेत्रमा गत बिहीबार देखि हिमपात सुरु भएको हो ।
हिजो विहान केहि समय मौसम सफा रहे तापनि चिसोले
स्थानीय वासी लाई आवतजावत गर्न असहज भएको छ । लामो दूरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन भने जुम्लामा पाँच दिनदेखि हवाई यातायात ठप्प भएको छ ।
व्यापार व्यवसाय तथा साना–ठूला विभिन्न क्षेत्रका उद्योग पनि तीन दिनदेखि बन्द रहेका छन् । हिउँले सदरमुकाम जुम्ला सहित कर्णाली क्षेत्र सेताम्य भएको छ ।
हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाले आज पनि बेला बेलामा बादल आउने र चिसो बढ्ने क्रम रहेको बताउनु भएको छ ।
हिजो अधिकत तापक्रम ७.८ डिग्री सेल्सियस र वर्षा ९७ मिलिमिटर भएकामा आज बिहानको न्यूनतम तापक्रम –२.५ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख चौरसियाले जानकारी दिनु भयो ।
त्यसैगरी सदरमुकाम जुम्लामा २०.२ सेन्टिमिटर हिमपात भएको उहाँको भनाइ छ । उहाँका अनुसार हिमपात कालीकोट र मुगु जिल्लामा कम परे पनि सबैभन्दा बढी हुम्ला, डोल्पा र जुम्लामा परेको छ । यी तीनै जिल्लाका उच्च भेकमा करिब चार फिट हिउँ परेको जनाइएको छ ।