काठमाडौ २९ फागुन ।
रंगहरुको पर्व होली आज काठमाडौ उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइदैछ । असत्यमाथि सत्यको विजयी प्रतिकका रुपमा यो पर्व प्रत्येक फागुन शुक्ल पूर्णिमाका दिन मनाइने गरिन्छ ।
बसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । तराई भेगमा भने भोलि भव्यताका साथ होली मनाइन्छ ।
राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलि आएको हो । होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।
होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको समेत रहेको छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
धार्मिक कथन अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले छल गरी आगोबाट नजल्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।