एम्बुलेन्स निर्देशिका लागू हुँदै,सबै एम्बुलेन्स दर्ता गरिसक्नुपर्ने

एम्बुलेन्स निर्देशिका लागू हुँदै,सबै एम्बुलेन्स दर्ता गरिसक्नुपर्ने

  • बुधबार, फाल्गुन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ, २५ फागुन ।

स्वास्थ्य मन्त्रालयले ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ । मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ ।

नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कति एम्बुलेन्स सञ्चालनमा छन् यकिन तथ्याङ्क नभएकाले निर्देशिका ल्याई चालु आर्थिक वर्षमा अहिले सञ्चालन रहेका सबै एम्बुलेन्स दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

“मन्त्रालयले सरकारी, अर्धसरकारी, गैरसरकारी सङ्घसङ्गठन एवम् निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवामा गुणस्तर वृद्धि गरी एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७३ ल्याइएको हो”, स्वास्थ्यमन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले भन्नुभयो ।
निर्देशिकामा एम्बुलेन्सको पहिचान हुनेगरी आवाज र नीलो रङको सङ्केत बत्ती जडान गरिएको हुनुपर्ने, एम्बुलेन्समा फोर ह्विल ड्राइभ, सस्पेन्सन, को–चेन सिस्टम हुनुपर्ने, शब्द र सम्पर्क फोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

‘एम्बुलेन्सलाइ ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गमा छुट्याइएको छ । एम्बुलेन्सले कुन वर्गको हो स्पष्ट उल्लेख गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ । एम्बुलेन्स एकहजार सिसीभन्दा बढी क्षमताको हुनुपर्ने र चालकको पछाडि कुनै सिट राख्न नपाइने तथा मापदण्ड विपरीत निर्देशिका उल्लङ्घन गरी चलाइएको पाइएमा जफत गरिने निर्देशिकामा उल्लेख छ ।

त्यसैगरी, सरकारबाट राजस्व छुट सुविधामा प्राप्त एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रस्ट देखिने गरी लेखेको हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । निर्देशिकाले एम्बुलेन्सको चिह्न, चालकको योग्यता, पालन गर्नुपर्ने आचारसंहिता र एम्बुलेन्सको प्रकार पनि छुट््याएको छ । निर्देशिकामा एम्बुलेन्समा रातो, हरियो र पहेँलो रङको सम्मिश्रण हुनुपर्नेछ ।

‘क’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो रङ हुनुपर्छ भनिएको छ । त्यसबाहेक दायाँ–बायाँ भाग हरियो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ‘ख’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो रङ हुनेछ । त्यसबाहेक देखिने भाग हरियो र रातो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ग’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग हरियो हुनेछ । त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ ।

एम्बुलेन्सको अगाडि–पछाडि टाढैबाट देखिने गरी ठूलाठूला अक्षरमा एम्बुलेन्स लेख्नुपर्नेछ । एम्बुलेन्समा साइरन, इमर्जेन्सी बत्ती, स्ट्रेचरका साथै वर्गअनुसार आवश्यक औजार राखेको हुनुपर्नेछ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य प्रायोजनमा प्रयोग गर्न पाइने छैन ।

एम्बुलेन्स नेपाल सरकारको सवारी प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्नेछ । एम्बलुेन्स नीलो रङको कम्तीमा ३० से.मी. लम्बाइको ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न (Star of Life Emblem) हनुपर्ने र यस्तो चिह्न दायाँ–बायाँ र पछाडि तीनतर्फ हुनुपर्ने, यसबाहेक सम्बन्धित संस्थाको चिह्न राख्न सकिने पनि उल्लेख छ ।

अन्य वाहनमा ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न राख्न नपाइने निर्देशिकामा उल्लेख छ । हाल सेवा दिइरहेका वाहनको हकमा भने निर्देशिका जारी भएको आर्थिक वर्षभित्र सेवा अनुमति लिनुपर्नेछ । यसरी अनुमति लिएको एम्बुलेन्सले सेवाग्राही बिरामीको अभिलेख राखी प्रत्येक चौमासिक सकिएको ३० दिनभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत चौमासिक प्रतिवेदन पेस गर्नुपर्नेछ ।

त्यसैगरी चालक प्रमाणपत्र तह पास भएको, पाँच वर्षको सवारी चालकको अनुभव प्राप्त गरेको, २५ वर्ष पूरा भएको र प्राथमिक उपचार तालिम प्राप्त गरेको हुनुपर्ने पनि निर्देशिकाले व्यवस्था गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी