विराटनगर, २२ फागुन । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सो विश्वविद्यालयद्वारा आयोजित समारोहमा ८ हजार ७ सय ६४ उपाधि प्राप्त गरेका विद्यार्थीलाई दीक्षित भएको छ । सोमध्ये कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका स्नातकोत्तर गरेका एक हजार ५०६ जना र सात हजार २५८ जना स्नातक तहका विद्यार्थीलाई दीक्षित गर्नुका साथै सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विभिन्न सङ्कायका विद्यार्र्थीलाई पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मानित गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले दीक्षित हुनुभएका विद्यार्थीलाई देश, जनता र आफ्नो भविष्यको निम्ति जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
राष्ट्र समुन्नत, समृद्ध, एकताबद्ध र स्वाधीन रहिरह्यो भने विश्वको कुनै पनि कुनामा नेपालीको सीमा चौडा हुने र गौरवान्वित महसुस गर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मुलुक गरिब रहेको अवस्थामा हेप्ने र हीनभावनाबाट ग्रसित हुने अवस्था आउँछ, तसर्थ मुलुकको विकासमा एकजुट भएर लाग्नु पर्दछ ।”
प्रकृतिले दिएको साधन स्रोतलाई सदुपयोग गरी औसतभन्दा माथि जीवनयापन गर्ने र सामाजिकता साथ मानव जातिको हितमा केन्द्रित भएर कार्य गर्न विद्यार्थीलाई आह्वान गर्नुभयो । २०५२ मा स्थापना भएका मुलुकको दोस्रो ठूलो विश्वविद्यालयबाट विभिन्न सङ्कायमा झन्डै ८८ हजार विद्यार्थीले स्नातकोत्तर र स्नातकको उपाधि प्राप्त गरेका छन् ।