काठमाडौँ, २१ फागुन ।
उपत्यकाका प्रमुख नदीको सफाइ गरी आज ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइ महाअभियानको १९९औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहरा नदी दोभानसम्म सफाइ गरिएको थियो ।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका , तीनवटै सुरक्षा निकायका प्रतिनिधि लगायत करि सात सयको सहभागीतामा भएको सफाईबाट १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो ।
फागुन २८ गते शनिबार बागमती सफाइको २००औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा गर्ने तयारी गरिएको छ । विशेष कार्यक्रमको मूल समारोह शङ्खमूलमा गरिनेछ ।
बागमती सफाइ महाअभियानको २००औँ हप्ताको तयारीका लागि मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा सरकारका सचिव र बागमती सफाइ महाअभियानका अभियन्ता सहभागी रहेको समिति गठन गरिएको छ । यस अवसरमा शङ्खमूलसम्मको बागमतीलाई ढलमुक्त गरी स्नानयोग्य भएको घोषणा गरिँदैछ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखलगायत सबै प्रमुख दलका शीर्ष नेताको सहभागी हुने महाअभियानले जनाएको छ ।
यस्तै रुद्रमती सफाइको १५८औँ हप्तामा आज देवीनगर पुलदेखि बिजुलीबजार पुलसम्मको क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
विष्णुमती सफाइको १३१ औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित मनोहर तीर्थमा सफाइ गरी १३ मेट्रिक टन फोहर निकालिएको जनाईएके छ ।
विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटेका छन् ।