काठमाडौँ, १९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कायम हुनै लागेकाले अब ढुक्का भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
राजधानीमा आज देखि सुरु अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक संक्रमण टुङ्गी सकेकाले लगानीकर्ताले विश्वस्त भएर लगानी गर्न सक्ने दावी गर्नुभयो ।
सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई लक्षित गर्दै उहाँले संविधान निर्माण भएपछि नेपाल अब विकासमा केन्द्रित हुन चाहेको र त्यसका लागि विदेशी लगानीकर्तालाई पर्खिरहेको बताउनु भयो ।
नेपालमा लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारको रहेको उहाँको भनाई थियो । नेपालमा विकास बिरोधी कोही पनि नभएकाले यहाँका सम्भावित क्षेत्रहरुमा लगानीका लागि द्विविद्धामा पर्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।
यस्तै सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताउनुभयो ।
उहाँले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताउनुभयो । नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताउनुभयो ।
नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताउनुभयो ।
सम्मेलनमा भारत, चीन, (हङ्कङ समेत), बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका दुई सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् ।
नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्र्याउन अन्तर्रा्ष्ट्रिय सम्मेलन गरेको थियो ।