काठमाडौँ, १८ फागुन । सविधान शसोधन र स्थानीय निर्वाचनको विषयमा सहमति जुटाउन आज भएको सत्तारुढ दल र मधेशी मोर्चाबीचको बैठक निष्कर्ष बिहीन भएको छ ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएपनि निष्कर्षमा पुगी नसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।
संविधान संशोधन गर्न दर्ता भएको संशोधन प्रस्ताव पारित गरेर मात्रै स्थानीय तहको निर्वाचनमा जानुपर्ने पुरानै माग मधेसवादी दलका नेताहरूले दोहोर्याएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने सरकार संविधान शसोधनको प्रयासमा रहेको भए पनि सहमति नभए पनि निर्वाचनमा जानु पर्नेमा जोड दिनु भएको थियो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म आफूहरू निर्वाचनमा सहभागी नहुने विषयलाई बैठकमा प्रस्तुत गरेको बताउनु भयो ।
बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’का साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र प्रवक्ता भुसाल तथा मेधसी मोर्चाकातर्फबाट महन्थ ठाकुर, अशोक राई र राजेन्द्र श्रेष्ठ , राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार सहभागी थिए ।