-सागर लामा,१८ फागुन,काठमाडौं ।
केन्द्रीय नेतृत्व तहबाटै महासंघलाई गैरपत्रकारहरु भर्ना गरेको भन्दै क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा विरोधसहित धर्ना–जुलुस गरेका छन् । महासंघको राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति उनीहरुले आपत्ति प्रकट गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा तीन दर्जनभन्दा बढी पत्रकारहरुसहित बुधबार दिउँसो केन्द्रीय कार्यालय संचारग्राममा पुगेर महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका छन् ।
श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकारको रक्षा तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको राजनीतिक परिवर्तनमा समेत महासंघले खेलेको भूमिका सबैका लागि गर्व गर्न लायक भएको बताउँदै लामो र गर्विलो इतिहास बोकेको महासंघलाई पछिल्लो समयमा विवादस्पद बनाउने प्रयत्न भईरहेको धर्नामा सहभागि पत्रकारहरुले बताएका छन् । नागरिकको अगुवा संस्थाको रुपमा स्थापित महांघको भूमिकालाई अझ सुदृढ गर्ने, यसको गरिमालाई उँचो बनाउनेभन्दा अमूक राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति हाम्रो संगठन गम्भीर आपत्ति प्रकट गर्दछ ।
अपरान्ह १ बजेदेखि २ बजेसम्म एक घण्टा धर्ना बसेको थियो । नयाँ सदस्यता वितरणमा केही पार्टीहरुले महासंघलाई राजनीतिक भर्ती केन्द्र बनाई इमान्दार पत्रकारलाई निषेध गरिएको संगठनका महासचिव कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले बताए । सदस्यता सुद्धिकरण गर्नु र गैरपत्रकारहरुको सदस्यतामाथि छानबिन गरी खारेज गर्नुपर्ने उनले बताए । विभिन्न जिल्लाहरुमा सत्तारुढहरुको निर्देशन र प्रभावमा दलीय सिन्डिकेट खडा गरी असल पत्रकारलाई सदस्यता लिनबाट बञ्चित गरिएको उनले बताए ।
‘महासंघलाई राजनीतिक भर्ती केन्द्र बनाउन पाइँदैन, सदस्यता सुद्धिकरण गर, गैरपत्रकारहरुको छानबिन गर’लगायत नारा लगाई एकघण्टासम्म मूल ढोकामा धर्ना बसेको थियो । संगठनका महाचिव प्रज्वलले एक प्रेस विज्ञप्ति जारी गरी विधान विपरीत सदस्यता खारेज गर्न माग गरेका छन् ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संगठनले उठाएको माग जायज भएको र बिहीबारसम्म वार्ताको माध्यमबाट माग पूरा गर्ने आश्वसन दिएको संगठनका उपाध्यक्ष दीपेन्द्र रावलले जानकारी दिए । महासचिव उजिर मगर, उपाध्यक्ष अनिता विन्दुको उपस्थिति थियो ।तस्विर : बुद्धशरण शाही/ टंक कडेल
विज्ञप्तिको पूर्ण पाठः
नेपाल पत्रकार महासंघ आम पत्रकारहरुको साझा संस्था हो । श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकारको रक्षा तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षाका साथै निर्णायक मोडमा मुलुकको राजनीतिक परिवर्तनमा समेत महासंघले खेलेको भूमिका सबैका लागि गर्व गर्न लायक छ ।
लामो र गर्विलो इतिहास बोकेको महासंघलाई पछिल्लो समयमा विवादस्पद बनाउने प्रयत्न भईरहेको छ । नागरिकको अगुवा संस्थाको रुपमा स्थापित महांघको भूमिकालाई अझ सुदृढ गर्ने, यसको गरिमालाई उँचो बनाउनेभन्दा अमूक राजनीतिक दलको भातृ संस्थाका रुपमा झार्ने प्रयत्नप्रति हाम्रो संगठन गंम्भीर आपत्ति प्रकट गर्दछ । एउटा निर्वाचनका बेला सुद्धिकरणका चर्का र खोक्रा आश्वसासन दिने तर अर्को निर्वाचनमा पुग्दा सत्तासिन दलका कार्याकर्ताहरुलाई निर्लज्जतापूर्वक अनियन्त्रित रुपमा भर्ती गर्ने अत्यन्तै गैरजिम्मेवार चरित्र देखा पर्दै गएको छ । अज्ञात, अपारदर्शी र रहस्यमयी लगानी ल्याएर मिडिया दर्ता गर्ने र आफ्ना कार्यकर्ताहरुलाई भरेर महासंघ कब्जा गर्ने नियत सबैभन्दा खतरनाक छ । पत्रकारितको व्यवसायिक विकासमा ध्यान नदिने तर च्याउसरी मिडिया दर्ता गरेर पत्रकारको संख्या बढाई निर्वाचनमुखी सदस्यता वितरण गर्ने प्रवृत्ति तत्काल रोक्न हामी माग गर्दछौं ।
महासंघको विधान विपरीत तीन वर्षसम्म सदस्यता आवेदन रकेर अन्तिममा वितरण गरी सुद्धिकरणको मुद्दालाई खल्तीमा थन्क्याउने प्रवृत्ति नरोक्दा सम्म महासंघभित्रको विवाद कहिल्यै सल्टिन सक्दैन । ठूलाठूला ठेक्कापट्टामा लाग्ने, सरकारी सेवामा रहेका कर्मचारी तथा विभिन्न व्यवसायमा लागेका (बहालवाला ंसंसाद समेत) मान्छेहरुलाई सदस्यता वितरण गर्ने, उनीहरुको सधैं नविकरण गरिरहने र त्यसमाथि महासंघको नेतृत्वले केही पनि गर्न नसक्ने निरीहता देखाएको छ । महासंघकोे सदस्यता सुद्धिकरणको लागि यसभन्दा अघिको १,००,७७ (दस हजार सतहत्तर) जनालाई नै छानबिन गरी पुनः सदस्यता दिन प्रक्रिया थाल्न हामी माग गर्दछौं ।
समस्याको एउटा ठूलो पहाड अगाडि राखिरहने तर त्यसलाई नदेखेझैं गरी अर्कोतिर दलीय बहुमतको खेलतिर लाग्नु आपत्तिजनक छ । जिल्ला–जिल्लामा महासंघको विधान विपरीत भएका सदस्यता सिफारिसमा निश्चित दलका भातृ संगठनको सिन्डिकेट लादिएको छ । दलीय भागबण्डा र निर्वाचनका लागि गणितीय हिसाब किताब गरी गरिएको सदस्यता सिफारिस हाम्रो लागि मान्य छैन । यसका लागि महासंघको नेतृत्वलाई गम्भीर हुन र हाम्रो माग सुनुवाई गर्न आग्रह गर्दछौं । अन्यथा, हामी बाध्यतापूर्ण निर्णय लिने जानकारी गराउँदछौं ।
महासचिव
कृष्ण कुमार श्रेष्ठ (प्रज्वल)भिडियो ।


