काठमाडौं, फागुन १६ ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेपछि त्यँहा पनि नेपाली विषय अध्ययन हुन थालेको छ ।
वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा उक्त राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताउनु भयो ।
हाल नेपाल भ्रमणमा रहेका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको सो निर्णयले त्यहाँका शैक्षिक संस्थामा हाललाई उच्चमाध्यमिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको सुरुवात भएको छ ।
अमेरिकाका विद्यार्थीलाई शैक्षिक संस्थामा अनिवार्य अङ्ग्रेजी विषयपछि दोस्रो कुनै एक विषय छनोटको प्रावधान छ । जसमा विश्वका धेरै भाषा सूचीकृत भए पनि हालसम्म नेपाली भाषा सूचीकृत नभएको उनले जानकारी दिए ।
आयुक्त गुरुङले उक्त कार्यले अमेरिकामा बस्ने भावी नेपाली पुस्ताले नेपाली भाषा पढ्न, जान्न पाउने र नेपाली भाषा संस्कृतिको जगेर्ना हुनाका साथै अमेरिकाका अन्य राज्यमा पनि नेपाली भाषा अध्ययनका लागि दबाब बढ्ने बताउनु भयो ।
वासिङ्टन राज्यमा हाल १० हजारभन्दा बढी नेपाली भाषी रहेकोमा ६ हजार भुटानी शरणार्थी छन् भने करिब पाँच हजार नेपाली छन् ।