इटहरी, फागुन १६।
सुनसरीको इटहरी स्थित मनि ट्रान्सफरमा लुटपाट गर्ने पुर्ण लुङ्गेली मगरलाई प्रहरीले आज झापाबाट पक्राउ गरेको छ । गत माघ २१ गते इटहरीको पचरुखीमा रहेको मनिट्रान्सफर लुटपाटमा प्रयोग गरिएको पेस्तोल र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकड्भिट्टाको टोलीले घटनामा प्रयोग गरेकोे को २८ प ३४४४ नम्बरको बुलेट मोटरसाइकल समेत बरामद गरेको हो । लुङ्गेली सहितको समूहले सुनसरीको इटहरीमा गत माघ १२ गते मिङ्मिङ्ग ज्वलर्सबाट समेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उक्त समूहले मनि ट्रान्सपरबाट तीन लाख, ज्वालेर्सबाट ३ लाख बराबरको धनमाल लुटेर फरार भएको थियो । यसैगरी धरानमा रहेको सेवा रेमिटबाट समेत गत फागुन २ गते ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए ।
श्रृँखलाबद्ध चोरी डकैतीमा संलग्न रहेको पाइएपछि प्रहरीको टोलीले समूहको खोजी गरेको थियो । घटनामा सम्लग्न अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।