काठमान्डौ फागुन १६।
गोरखा नगरपालिका–८ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पस परिसरमा आज बिहान बम बिष्फोट भएको छ । घटनास्थलमा सुतली भेटिएकाले सुतली बम पड्केको हुन सक्ने घटनास्थलको निरीक्षणपछि प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनु भयो ।
बम बिष्फोट भएको भनिएको ठाउँमा बारुद पोखिएको र झारपात जलेको प्रहरीले जनाएको छ । बिष्फोटको आवाज पछि त्यहा नेपाल प्रहरी र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । एक जना युवा आएर बम बिष्फोट गराएको स्थानीयबासीले बताएका छन् ।
द्रव्यशाह क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनले प्यानल सहित उमेदवारी दर्ता गराएका छन् । आगामी बुधबार चुनावको तयारी गरिएको छ ।
त्यस्तै गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले समूहले तालाबन्दी गरेको छ । मनोनयन दर्ताको क्रम नमिलेको भनेर विवाद भएपछि तालाबन्दी गरिएको क्रान्तिकारीले जनाएको छ । नेविसंघ र क्रान्तिकारी एकै समयमा उमेद्वारी दर्ता गर्न पुगे पनि निर्वाचन समितिले नेविसंघलाई दुई नम्बरमा दर्ता दिएको थियो ।
दुई नम्बरमा आफु हुनु पर्ने भन्दै क्रान्तिकारीले क्याम्पस प्रशासनमा ताला लगाएको हो । ताला नखुलेसम्म निर्वाचन प्रक्रिया अघि बढाउन नसकिने निर्वाचन समितिका संयोजक यदु अधिकारीले बताउनु भयो । क्रान्तिकारीले गरेको तालाबन्दी प्रति नेविसंघ, अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी युनियनले असन्तुष्टि जनाएका छन् ।