काठमाण्डौ, फागुन १६ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलितहरुको मुद्दालाई सरकारले संयुक्त राष्ट्रसंघमा प्रभावकारी रुपमा राख्ने बताउनुभएको छ ।
आज बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले विश्वव्यापी रुपमै संगठित भएर दलित अधिकारको पक्षमा आवाज उठाउनु स्वागतयोग्य रहेको बताउनुभयो ।
दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको भन्दै प्रचण्डले राष्ट्रको बिकाशमा दलित समुदायको साथ रहेको धरणा राख्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्यो, हामीले त्यसका विरुद्ध संघर्ष गर्यो । सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागे । संघीय लोकतान्त्रिक गणतन्त्र र सबैको समान अधिकार मेरो सपना थियो, मेरो सपनामा दलितहरुको राम्रो साथ रह्यो ।’
यस्तै भेटमा दलित अगुवाहरुले सीमान्तकृत समुदाय र दलितहरुको पक्षमा प्रधानमन्त्रीले व्यक्तिगत र संस्थागत रुपमा गरेको संघर्ष र संविधानमा लिपिवद्ध अधिकारबारे आफूहरु अवगत रहेको जानकारी गराएका छन ।
अगुवाहरुले दलितका मुद्दाहरुलाई संयुक्त राष्ट्र संघसम्म लगेर नीतिगत परिमार्जनमा सहयोगका लागि आग्रह गरेका थिए ।