काठमाडौ १६ फागुन ।
रामेछाप केन्द्रविन्दु भएर आज बिहान दुई अोटा भूकम्पको पराकम्प गएको छ । बिहान करिब ४५ मिनेटको अन्तरमा लगातार दुई भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्र भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसको ४५ मिनेटपछि रामेछाप नै केन्द्रविन्दु भएर पुनः ४ दशमलव ७ रेक्टर स्केलको अर्को पराकम्प गएको हो ।
परकम्पको धक्का उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो । बिनाशकारी भुकम्पपछि पनि स–साना पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
यो २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनु भयो । गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर भन्दा माथिका ४७८ वटा पराकम्प मापन भएको छ ।