काठमाण्डौ फागुन १६
सार्वजनिक बिदाको दिन आजपनि निर्वाचन आयोगमा काम हुने भएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय चुनावको अन्य तयारीसँगै दल दर्ताको कामसमेत हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
आयोगले स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरुलाई फागनु १८ गतेसम्म आयोगमा दर्ता हुन निर्देशनसमेत दिएको छ । आयोगका अनुसार दर्ता गर्नका लागि दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।
संविधानको धारा २ सय ६९ बमोजिम आयोगमा दर्ता कायम भई आफू क्रियाशील रहेका जिल्लाका निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूले चुनावका लागि निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा जानकारी गराउनु पर्ने हुन्छ ।
यस्तै दल दर्ता गर्दा केन्द्रिय कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा त्यस्तै समितिका पदाधिकारीको संख्या, दलको संगठनात्मक स्वरूप, दल दर्ताको लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, दलको आधिकारिक छापको नमूना पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।