काठमाडौँ, १४ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहरी र ग्रामीण क्षेत्रमा विद्यमान शैक्षिक गुणस्तर र पहुँचका खाडललाई अन्त्य गर्नु पर्ने आवश्यकता औँल्याउनु भएको छ ।
थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अभिभावक, शिक्षक, विद्यालयको समन्वयबाट मात्र शैक्षिक उन्नयन हुने बताउनु भयो।
उहाँले दुर्गम क्षेत्रका बालबालिकाको अझै पनि शिक्षा लिनबाट वञ्चित एवम् बीचबाट अध्यययन छाड्नुपर्ने बाध्यता रहेको तर्फ सरकारले ध्यान दिन आग्रह गर्नुभयो ।
राष्ट्रपति भण्डारीले विद्यालय तहमा आधुनिक सूचना प्रविधि सम्बन्धी शिक्षा विस्तार गर्नुपर्ने खाँचो औल्याउँदै उत्पादित जनशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।
काठमाडाँैको प्रमुख प्रवेशद्वार हाल चन्द्रगिरी नगरपालिका– ५ थानकोटमा रहेको सो विद्यालयले विसं २०२३ देखि मावि तहको अध्ययन अध्यापनको सुरुवात् गरेको थियो ।
गतवर्षको विनाशकारी भूकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि करिब रु तीन करोडको लागतमा भवन निर्माण गरिएको हो ।
विसं २०२४ देखि प्रवेशिका परीक्षामा सहभागी हुँदै आएको सो विद्यालयबाट विसं २०७२ सम्म दुई हजार ८०० छात्रछात्राले सो परीक्षा उत्तीर्ण गरिसकेका छन् ।
शिक्षा मन्त्रालयले सो विद्यालयलाई सामुदायिक विद्यालयबाट शतप्रतिशत प्रवेशिका परीक्षामा उत्तीर्ण गराएबापत प्रदान गर्ने नगद तथा प्रमाणपत्र विसं २०६० देखि निरन्तर रुपमा प्रदान गरिरहेको छ ।
करिब ११ रोपनी जग्गामा रहेको विद्यालयको सातवटा भवन आफ्नै रहेको छ । साथै आफ्नो १६ रोपनी जमिनमा स्याउ र नासपातिका बिरुवा रोपी आम्दानीको स्रोत बढाउन सुरुवात् गरेको छ ।
सो अवसरमा राष्ट्र«पति भण्डारीले विद्यालयका संस्थापक, प्रधानाध्यापक,संस्थापक शिक्षक, पहिलो समूहमा तथा विसं २०७० को सामुदायिक विद्यालयका तर्फबाट प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रछात्रा, भवन निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले विद्यालयमा शिक्षक आवास भवन तथा प्राविधिक शिक्षालय बनाउन थप आर्थिक सहयोग गर्ने जानकारी दिँदै शैक्षिक उन्ननयका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सांसद राजेन्द्र केसीले सामुदायिक विद्यालयका शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताउँदै अबको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो ।